बागमती फनपार्क भ्रष्टाचारमा तत्कालीन अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध मुद्दा

मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साह । फाइल तस्बिर ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयाेगले सर्लाहीको बागमती नगरपालिकाको ‘बागमती फनपार्क एण्ड रिसोर्ट’ निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेको हो ।

बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, मधेश प्रदेशका तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, तत्कालीन उपप्रमुख लीला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन उपसचिव उद्धवराज न्यौपाने तथा बिकोई–धुलिखेल जेभी र उसका प्रतिनिधि युवराज पोखरेलविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार बागमती नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा फनपार्क निर्माणको पहिलो चरण सुरु गरेको थियो । तर पहिलो चरणको काम पूरा नहुँदै दोस्रो चरणका नाममा नयाँ डीपीआर बनाएर अनियमितता गरिएको अनुसन्धानबाट खुलेको छ ।

आयोगले पहिलो डीपीआरमा नभएका काम थपेर राज्यलाई अनावश्यक आर्थिक भार पारिएको, निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी ठेक्का प्रक्रिया मिलाइएको, बजेट सुनिश्चित नगरी लागत स्वीकृत गरिएको र ठेक्कामा फर्जी कागजातसमेत प्रयोग गरिएको आरोप लगाएको छ ।

यस प्रकरणमा तत्कालीन अर्थमन्त्री साह र तत्कालीन अर्थसचिव ठाकुरसँग जनही ३५ करोड रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ । तत्कालीन नगरप्रमुख थापा, उपप्रमुख मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पोखरेल तथा बिकोई–धुलिखेल जेभी र उसका प्रतिनिधि युवराज पोखरेलसँग जनही ३९ करोड ३९ लाख ६६ हजार ३३३ रुपैयाँ १३ पैसा बिगो असुल गर्न माग गरिएको छ । यस्तै, तत्कालीन उपसचिव उद्धवराज न्यौपानेसँग २० करोड रुपैयाँ बिगो असुल गर्न माग गरिएको आयोगले जनाएको छ ।

अख्तियारले सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही र बिगो असुलउपरको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Share News