पार्टीको निर्णय र कार्यसूचीभन्दा बाहिर गई गतिविधि गर्न पाइँदैनः घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति गुरुराज घिमिरेले पार्टीको निर्णय र कार्यसूचीभन्दा बाहिर गएर गतिविधि गर्ने छुट कसैलाई पनि नरहेको बताएका छन् ।

बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसभित्र अनुशासन, एकता र साझा कार्यदिशा अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीको आधिकारिक निर्णयअनुसार अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे ।

घिमिरेले बदलिँदो समयको माग र जनताको अपेक्षा बुझ्न नसके कांग्रेस कमजोर बन्न सक्ने चेतावनी दिए । 

उनले कांग्रेसलाई पुनः जनतासँग बलियो रूपमा जोड्न युगको आवश्यकता, नागरिकका चाहना र समकालीन राजनीतिक चुनौतीलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

उनले पार्टीभित्र व्यक्तिगत एजेन्डाभन्दा संगठनको सामूहिक कार्यसूचीलाई प्राथमिकता दिनुपर्ने बताउँदै कांग्रेसलाई जनमुखी, उत्तरदायी र समयअनुकूल बनाउने दिशामा सबै नेता–कार्यकर्ताले एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राखे ।

Share News