काठमाडौं । नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कारबाहीबाट ३ करोड ४१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८ हजार ८८५ सवारीसाधनलाई कारबाही गरिएको बताए ।
उनका अनुसार आव २०८१/८२ मा ४९ हजार ९६४ सवारी कारवाही गरी ३ करोड ६७ लाख ४३ हजार रुपैयाँ राजस्व असुली गरिएको थियो ।
उनले भने, ‘कारबाही सङ्ख्या र राजस्व सङ्कलन घट्नु भनेको ट्राफिक नियम पालना हुनु हो । हामी राजस्व सङ्कलन गर्ने होइन, सकेसम्म नियमको पालना र सवारी दुर्घटनामा कमी ल्याउन लागिपरेका छौँ ।’
आव २०८१/८२ को तुलनामा आव २०८२/८३ मा सवारी कारबाही २३ प्रतिशत र राजस्व सङ्कलन २० प्रतिशतले कमी आएको छ ।
प्रहरी उपरीक्षक रिजालका अनुसार कर्णालीमा दैनिक सरदर १०१ सवारीसाधन दर्ता हुन्छन् । यस्तै, ३.२७ प्रतिशत सवारी दुर्घटना हुन्छ । प्रदेशका सबै जिल्लाको सवारी दुर्घटनाबारे अध्ययन गर्दा सुर्खेतमा सबैभन्दा बढी ६९० र मुगुमा सबैभन्दा कम १७ सवारी दुर्घटना भएको प्रहरीको विवरण छ ।
प्रदेशभर १ हजार ३८४ किलोमिटर पक्की, एक हजार १९४ किलोमिटर ग्राभेल, ७ हजार १०८ किलोमिटर कच्ची गरी कर्णाली जम्मा ९ हजार ६८७ किलोमिटर सडकमा सवारी सञ्चालन हुन्छ ।
कुल १६ लाख ९४ हजार ८८९ जनसङ्ख्याका लागि ट्राफिक प्रहरी अनुपात ७८.८३ जना छ । एकजना प्रहरीले ४५ किलोमिटर सडक हेर्नुपर्दछ । हाल प्रदेशभर २१५ ट्राफिक प्रहरी रहेको उनले जानकारी दिए ।
कर्णालीमा २६ देखि ४० वर्ष उमेर समूहका विशेषगरी दुई पाङ्ग्रे ६२ प्रतिशत सवारीसाधन तीव्र गतिका कारण अपरान्ह १२ देखि साँझ ६ बजेसम्म सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक रिजालले बताए । उनका अनुसार गत आव २०८२/८३ मा ट्राफिक नियम पालनासम्बन्धी ८ हजार २७८ पटक सचेतनामूलक कार्यक्रम गर्दा कर्णाली प्रदेशभर ५ लाख ६९ हजार २०६ नागरिक लाभान्वित भएका थिए ।