शिक्षा-स्वास्थ्यमा ३ प्रतिशत कर खारेजको निर्णय मन्त्रिपरिषदमा पेस

काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क खारेज गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहसँगको परामर्शपछि बुधबार मन्त्रिस्तरीय निर्णयमार्फत उक्त शुल्कमा पूर्ण छुट दिने निर्णय गरेका हुन् । निर्णय अनुमोदनका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । शुल्क लागू भएपछि विभिन्न क्षेत्रबाट व्यापक गुनासो आएपछि सरकारले त्यसबारे पुनर्विचार थालेको थियो ।

यसैक्रममा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीबीच शुल्कको विषयमा लामो छलफल भएको थियो । त्यसपछि मंगलबार प्रधानमन्त्रीले समता शुल्क हटाउने प्रक्रिया अघि बढाइने घोषणा गरेका थिए ।

आर्थिक ऐन, २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा दफा १८ को उपदफा (१) बमोजिम पूर्ण छुट दिने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
 

Share News