प्रदीप अधिकारीविरुद्ध १.७१ करोडको मुद्दा, घुसले श्रीमतीको नाममा जग्गा किनेको आरोप

अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार पनि मुद्दा दायर ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अधिकारीले १ करोड ७१ लाख रुपैयाँ घुस लिएको तथा सो रकमबाट श्रीमतीको नाममा जग्गा खरिद गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा आयोगले मुद्दा दर्ता गरेको हो ।

अधिकारीले प्राधिकरणअन्तर्गत सञ्चालन भएका विभिन्न ठेक्काको स्वीकृति, अनुगमन तथा भुक्तानी प्रक्रियामा आफ्नो पदको दुरुपयोग गर्दै ठेकेदार कम्पनीलाई सहजीकरण गरिदिएबापत गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा उक्त रकम लुकाउन अधिकारीले ललितपुर महानगरपालिका–५ स्थित १३ आना जग्गा श्रीमतीको नाममा खरिद गरेको आयोगको दाबी छ । 

जग्गाको राजीनामामा ९१ लाख रुपैयाँ मात्र देखाएर वास्तविक कारोबार लुकाउने प्रयास गरिएको तथा बाँकी घुसको रकम विभिन्न बैंक खातामार्फत परिचालन गरी वैध देखाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरिएको आयोगले जनाएको छ ।

अख्तियारले अधिकारी र घुस दिने पक्षका रूपमा गायत्री निर्माण सेवा तथा त्यसका प्रमुख प्रेमप्रकाश ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत समान १ करोड ७१ लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र घुसबाट खरिद गरिएको जग्गा जफतको मागदाबीसमेत गरेको छ । 

साथै अधिकारीमाथि राष्ट्रसेवक भएकाले थप सजायको माग पनि गरिएको छ ।

त्यसैगरी, भ्रष्टाचारबाट प्राप्त रकमको स्रोत लुकाई सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार पनि मुद्दा दायर गरिएको छ ।

सोही कसुरमा सहयोग तथा सहजीकरण गरेको आरोपमा प्रेमप्रकाश ढकालमाथि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गर्दै उक्त जग्गा जफत गर्न माग गरिएको आयोगले जनाएको छ ।

Share News