काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औं महाधिवेशनलाई सबैका लागि स्वीकार्य, समावेशी र सहभागितामूलक बनाउने उद्देश्यले पार्टीभित्र निरन्तर संवाद र छलफल भइरहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व तथा अन्य नेताहरूबीच महाधिवेशनको वातावरण सहज बनाउन सकारात्मक ढंगले छलफल अघि बढिरहेको जानकारी दिए ।
शर्माले आगामी महाधिवेशनमा पार्टीका सबै सदस्यको सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माणमा नेतृत्व गम्भीर रहेको उल्लेख गर्दै त्यसका लागि भइरहेका संवादले सकारात्मक निष्कर्ष दिने विश्वास व्यक्त गरे ।
उनले पार्टीभित्र जारी छलफलले सहमतिमार्फत महाधिवेशनलाई सफल बनाउने आधार तयार गर्ने बताए ।
शर्माले भने, ‘सभापति गगनकुमार थापा, सिङ्गो नेपाली कांग्रेस पार्टी र पार्टी नेतृत्वबीच नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण सहज बनाउने उद्देश्यले संवाद र छलफल भइरहेका छन् । ती संवाद तथा छलफल सकारात्मक ढङ्गले टुङ्गिनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’
कांग्रेसभित्र १५औं महाधिवेशनको तयारी, कार्यतालिका तथा सहभागीको दायरालगायत विषयमा पछिल्ला दिनहरूमा नेतृत्व तहमा निरन्तर परामर्श र छलफल चलिरहेको छ ।