विदेश भ्रमणमा बाहिरियो २ खर्ब रुपैयाँ

काठमाडौं । गत आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा नेपालीहरूले विदेश भ्रमणका क्रममा झण्डै २ खर्ब रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवको साउनदेखि जेठ मसान्तसम्म विदेश भ्रमणमा कुल १ खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ बाहिरिएको छ।

कुल भ्रमण व्ययमध्ये शिक्षातर्फ मात्रै १ खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ खर्च भएको छ, जुन कुल भ्रमण व्ययको सबैभन्दा ठूलो हिस्सा हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विदेश भ्रमणमा २ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ खर्च भएको थियो भने शिक्षातर्फको व्यय १ खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । 

यसैबीच, समीक्षा अवधिमा नेपालको खुद सेवा आय ७२ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८२ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । 

सेवा खाताअन्तर्गत भ्रमण आय ०.१ प्रतिशतले घटेर ८२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । 

Share News