काठमाडौं । काठमाडौंको ढुङ्गेअड्डाबाट सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुर जिल्लाको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राई रहेका छन् ।
देउलाले लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोको टोलीले ५० वटा बक्समा रहेको १५ हजार क्याप्सुल ट्रामाडोलसहित पक्राउ गरिएको हो ।
साथै उनले प्रयोग गरेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत जफत गरिएको छ ।
त्यस्तै, देउला बस्ने कोठाबाट डाईजापम तथा फेरेनागन ट्याब्लेट १ हजार १ सय ८८ वटा, ट्रामाडोल ३ हजार ७ सय ७० वटा र पोलेन १ सय ५० वटासहित सुमित्रा राईलाई समेत पक्राउ गरिएको हो ।
त्यसैगरी, उनको कोठाबाट १ लाख ३९ हजार १ सय ६५ रुपैयाँ तथा ३ थान मोवाइल सेट समेत जफत गरिएको छ।
दुवै जनालाई बरामद लागूऔषध, नेपाली रुपैयाँ, स्कुटर र मोबाइल सेटसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।