पैचो पसल पब्लिक कम्पनीमा रूपान्तरण, आईपीओको तयारी अन्तिम चरणमा

काठमाडौं । स्वदेशी कृषि उत्पादन, ग्रामीण उद्यमशीलता र किसानसँगको सहकार्यलाई केन्द्रमा राखेर सञ्चालन हुँदै आएको पैचो पसल अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीले आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै ‘पैचो पसल प्रा.लि.’ बाट ‘पैचो पसल लिमिटेड’का रूपमा औपचारिक कारोबार सुरु गरेको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा कम्पनी रजिस्ट्रारको कार्यालयबाट आवश्यक कानुनी स्वीकृति प्राप्त गरेपछि कम्पनीले नयाँ संस्थागत संरचनाअनुसार सञ्चालन सुरु गरेको हो ।

वि.सं. २०७१ मा स्थापना भएको पैचोले पछिल्लो १२ वर्षदेखि कृषक, स्थानीय उत्पादन र उपभोक्ताबीचको दूरी घटाउँदै उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, बजार व्यवस्थापन र वितरणसम्मको एकीकृत मूल्य शृङ्खला विकास गर्दै आएको छ ।

कम्पनीका अनुसार पब्लिक लिमिटेडमा रूपान्तरणसँगै अब पुँजी आधार विस्तार, संस्थागत सुशासन सुदृढीकरण, आधुनिक प्रविधिमा लगानी, उत्पादन क्षमता वृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकतामा राखिनेछ ।

पैचो पसल लिमिटेडका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले कम्पनीको रूपान्तरणलाई कानुनी संरचनाको परिवर्तन मात्र नभई नेपाली कृषि उद्यमको नयाँ अध्यायको सुरुवातका रूपमा व्याख्या गरेका छन् ।

उनले भने, 'पैचो एउटा व्यवसाय मात्र होइन, यो किसानको सपना, उपभोक्ताको विश्वास र स्वदेशी उत्पादनप्रतिको प्रतिबद्धताको साझा अभियान हो । अब पब्लिक लिमिटेडमार्फत सर्वसाधारण र लगानीकर्तालाई पनि यो यात्रामा सहभागी गराउने लक्ष्य लिएका छौँ ।'

कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी तयारी अन्तिम चरणमा पुगेको पनि जनाएको छ । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ । आवश्यक नियामकीय प्रक्रिया पूरा भएपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरिने कम्पनीको भनाइ छ ।

हाल पैचोले केचप, जाम, अचार, चुक, छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत करिब १०० भन्दा बढी कृषि तथा खाद्य उत्पादन बजारमा उपलब्ध गराइरहेको छ । ती उत्पादन नेपालभरका आधुनिक खुद्रा सञ्जालमार्फत बिक्री हुँदै आएका छन् भने अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी दिनमा कृषि उपज संकलन केन्द्रको विस्तार, ‘ताजा तरकारी बिक्री भण्डार’को सञ्जाल विकास, कृषि प्रशोधन उद्योगमा थप लगानी, रोजगारी सिर्जना तथा स्वदेशी कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी नेपाली ब्रान्डका रूपमा स्थापित गर्ने रणनीति अघि बढाउने जनाएको छ । 

Share News