आइसिटी अवार्डको ११औँ संस्करणका लागि आवेदन खुला, १६ विधामा प्रतिस्पर्धा हुने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित आइसिटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) खुला गरिएको छ । आयोजक लिभिङ विथ आइसिटीले साउन १ गतेदेखि १६ वटा विभिन्न विधामा आवेदन आह्वान गरेको हो ।

यस वर्षका अवार्डमा नेपालका साथै दक्षिण एसियाली मुलुकलाई समेट्ने अन्तर्राष्ट्रिय विधासमेत समावेश गरिएको छ । सन् २०१६ देखि सञ्चालन हुँदै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले हरेक वर्ष पुसको पहिलो साता आयोजना हुँदै आएको छ ।

आयोजकका अनुसार प्रविधि क्षेत्रमा स्टार्टअप, नवप्रवर्तन, डिजिटल उत्पादन तथा सरकारी र निजी क्षेत्रका डिजिटल रूपान्तरणका प्रयासलाई विभिन्न विधामार्फत सम्मान गरिनेछ । सूचना तथा सञ्चार प्रविधिमार्फत राष्ट्रलाई योगदान पुर्याएका व्यक्तित्वलाई पनि अवार्ड प्रदान गरिनेछ ।

यस वर्ष पनि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड निरन्तर रहनेछ भने पहिलो पटक एआई इन्नोभेसन साउथ एसिया आइसिटी अवार्ड थपिएको छ । यी विधामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तानका स्टार्टअप तथा एआई कम्पनीले आवेदन दिन सक्नेछन् ।

आयोजकका अनुसार अनलाइन आवेदनसँगै करिब छ महिनासम्म विभिन्न छनोट चरण, टेलिभिजन शो, स्टार्टअप फेस्ट तथा अन्य पूर्वकार्यक्रम सञ्चालन गरिनेछन् । उत्कृष्ट छनोटका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २० जना विज्ञ निर्णायक र सरकारी तथा निजी क्षेत्रका १५ भन्दा बढी विशिष्ट व्यक्तिको सल्लाहकार समिति रहनेछ ।

अवार्डलाई चार क्याटेगोरीमा विभाजन गरिएको छ । क्याटेगोरी ‘ए’ अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन अवार्डमा प्रतिस्पर्धीले स्वयं आवेदन दिनुपर्नेछ । क्याटेगोरी ‘बी’मा प्रविधिमार्फत योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिनेछ भने क्याटेगोरी ‘सी’मा सरकारी तथा निजी संस्थाको डिजिटल रूपान्तरण र प्रविधि प्रयोगका आधारमा छनोट हुनेछ ।

आयोजक समितिका अध्यक्ष राजन लम्सालका अनुसार अवार्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिनेछ । पहिलो चरणको आवेदन अवधि भदौ १५ गते सम्म खुला रहनेछ ।

Share News