काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (फर्स्ट प्रिमियम इन्कम–एफपीआई) आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।
कम्पनीले आफ्नो २५ वर्षे गौरवमय यात्रा (सिल्भर जुबिली) को अवसरमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा पहिलो पटक यस्तो उपलब्धि हासिल गरेको जनाएको छ । गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै बनाएको रेकर्डलाई यस वर्ष थप उचाइमा पुर्याएको कम्पनीको दाबी छ ।
यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीप्रति विश्वास गर्ने बीमित, समर्पित बीमा अभिकर्ता, कर्मचारी, सेयरधनी, सञ्चालक समिति, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।
कम्पनीले २५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई केन्द्रमा राखेर काम गर्दै आएको उल्लेख गर्दै यस उपलब्धिले नेपालको जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको जनाएको छ ।
नेपाल लाइफले आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा विस्तार, नवीन बीमा योजना, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि र विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
कम्पनीले ‘२५ वर्षको विश्वास, आज १३ अर्बभन्दा बढीको ऐतिहासिक उपलब्धि’लाई ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी तथा सम्पूर्ण सरोकारवालाको साझा सफलताका रूपमा लिँदै आगामी दिनमा पनि जीवन बीमा क्षेत्रमा अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्व कायम राख्ने विश्वास व्यक्त गरेको छ ।