काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवाद निर्माणको राजनीतिक रूपरेखा प्रस्तुत गरेका छन् ।
इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘हेन्ड्स अफ एसिया’ सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिक्नुपर्ने पाठबारे आफ्नो धारणा राखेका हुन् ।
उनले बदलिँदो विश्व शक्ति सन्तुलन र महाशक्तिबीच बढ्दो प्रतिस्पर्धाको सन्दर्भमा असंलग्न परराष्ट्र नीति र समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि राजनीतिक रूपरेखा पनि प्रस्तुत गरे ।
सम्मेलनमा श्रीलंकाका वातावरणमन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋण कार्यक्रमका कडा सर्तबीच जनमुखी विकासको वैकल्पिक मोडल निर्माणका विषयमा धारणा राखेका थिए ।
यस्तै, विश्वप्रसिद्ध मार्क्सवादी लेखक तथा इतिहासकार विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई साम्राज्यवादी संरचनाका परस्पर सम्बन्धित अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै समकालीन अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुने कार्यक्रम छ । सम्मेलनका क्रममा प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेतासँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच सम्मेलनको साइडलाइनमा उनले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकका शीर्ष वामपन्थी नेताहरूसँग पनि भेटवार्ता गरेका छन् ।
सम्मेलनको दोस्रो सत्रमा नेपाल कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।