काठमाडौं । नेपाली कांग्रेसले साउने सङ्क्रान्ति तथा किराँत–लिम्बु समुदायको सिरिजङ्गा–सिरिःध्वा तङ्नामको शुभकामना सन्देशमार्फत वर्तमान सरकारको कार्यशैलीमाथि तीखा टिप्पणी गरेको छ ।
कांग्रेसले मुलुकमा निरंकुश शासकीय प्रवृत्ति, अधिनायकवादी सोच, नागरिक अधिकारमाथिको हस्तक्षेप तथा जनताको आवाज दबाउने प्रवृत्ति बढ्दै गएको आरोप लगाउँदै लोकतन्त्रको रक्षाका लागि सचेत रहन सबैलाई आह्वान गरेको हो ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जारी गरेको शुभकामना सन्देशमा वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारविरुद्ध एकजुट हुनुपर्ने उल्लेख गरेका छन् ।
आङ्देम्बेले सन्देशमा भनेका छन्, ‘आज नेपाली राजनीतिमा निरंकुश शासकीय प्रवृत्ति, अधिनायकवादी सोच, नागरिक अधिकारमाथिको हस्तक्षेप तथा निमुखा र निर्धन जनताको आवाज दबाउने चरित्र बढ्दै गएकोप्रति लोकतन्त्रप्रेमी सबै सचेत हुनुपर्ने अवस्था छ ।’
उनले साउने सङ्क्रान्तिमा लुतो फालेर रोग र अशुभलाई बिदा गर्ने परम्परालाई स्मरण गर्दै अब लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार र अधिनायकवादी सोचलाई पनि समाजबाट सदाका लागि अन्त्य गर्नुपर्ने बताएका छन् ।
कांग्रेसले जनता नै सार्वभौमसत्ताको स्रोत भएको लोकतान्त्रिक मान्यतालाई व्यवहारमा स्थापित गर्दै संविधान, विधिको शासन, सामाजिक न्याय र समुन्नत नेपालको निर्माणमा प्रतिबद्ध हुनुपर्नेमा जोड दिएको छ ।