काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ खर्ब ४७ अर्ब १५ करोड रुपैयाँ बराबरका थप धितोपत्र (सेयर) सूचीकृत भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा ४८ अर्ब २७ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), ४० अर्ब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर, ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९७ करोड १७ लाख रुपैयाँ बराबरको एफपीओ तथा २ करोड २३ लाख रुपैयाँ बराबरका अन्य धितोपत्र सूचीकृत भएका हुन् ।
यही अवधिमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५३ अर्ब ७३ करोड रुपैयाँ बराबरका धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले ३७ अर्ब ३ करोड रुपैयाँ बराबरका म्युचुअल फन्ड, ९ अर्ब १२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर तथा ४ करोड ६७ लाख रुपैयाँ बराबरको एफपीओ निष्कासनका लागि स्वीकृति दिएको हो ।
जेठ मसान्तसम्म नेप्सेमा सूचीकृत ९ अर्ब ५१ करोड कित्ता सेयरको चुक्ता पुँजी ९ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । सोही अवधिसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २९७ पुगेको छ, जुन २०८२ जेठमा २७२ थियो । सूचीकृत कम्पनीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, १०५ जलविद्युत् कम्पनी, २९ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था तथा १० अन्य समूहका कम्पनी रहेका छन् ।
धितोपत्र बजार पुँजीकरणका आधारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी ५०.९ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत् कम्पनीको हिस्सा १७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.७ प्रतिशत, अन्य समूहको ८.६ प्रतिशत, लगानी कम्पनीको ६.८ प्रतिशत, व्यापारिक संस्थाको ४.१ प्रतिशत तथा होटल क्षेत्रको ३.३ प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकले जनाएको छ ।