अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीको जोड, गभर्नरले भने- त्रसित बनाउने नीति लिँदैन

(फोटो एआई)

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील, बलियो र व्यावसायिक बनाउन आवश्यक नीतिगत सहजीकरणमा जोड दिएका छन् । प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेट गरी मुलुकको समग्र आर्थिक अवस्था, पुँजी बजारको स्थायित्व, उद्यमशीलता प्रवर्द्धन तथा आगामी मौद्रिक नीतिका प्राथमिकताबारे छलफल गरेका हुन् ।

करिब एक घण्टासम्म चलेको छलफलमा प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंकबीचको प्रभावकारी समन्वयबाट मात्र अर्थतन्त्रमा विश्वासको वातावरण सिर्जना गर्न सकिने धारणा राखे । उनले पुँजी बजारमा आबद्ध लगानीकर्ताको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले सेयर बजारसँग सम्बन्धित केही सीमित तथा जटिल प्रावधानहरू आवश्यकताअनुसार पुनरावलोकन गरी लगानीमैत्री वातावरण निर्माण गर्न सुझाव दिएका छन् । साथै, उद्योग, व्यवसाय र रोजगारी विस्तारका लागि साना तथा ठूला उद्यमीलाई सहज रूपमा लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्ने र बैंकहरूको ब्याजदर तथा कर्जा प्रवाहलाई उद्यममैत्री बनाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले महिला उद्यमी तथा आर्थिक–सामाजिक रूपमा पछाडि परेका समुदायका व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा विशेष प्राथमिकता दिई अर्थतन्त्रको मूल प्रवाहमा सहभागी गराउन मौद्रिक उपकरणहरू प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने धारणा पनि व्यक्त गरे ।

जवाफमा गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति समयसापेक्ष, व्यावसायिक र लचिलो बनाउने दिशामा राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए ।

उनले सरकार र राष्ट्र बैंकको साझा उद्देश्य अर्थतन्त्रलाई गति दिनु रहेको उल्लेख गर्दै कुनै पनि क्षेत्रलाई अनावश्यक रूपमा अप्ठ्यारो पर्ने वा त्रसित बनाउने नीति नअपनाइने स्पष्ट पारे । सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म सबैलाई नीतिगत रूपमा आवश्यक सहजीकरण गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

Share News