प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षीको विरोध कायमै

फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसदमा दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोध बुधबार पनि जारी रहेको छ ।

प्रतिनिधिसभाको बैठक सुरु भएपछि सभामुख डीपी अर्यालले कार्यसूची अघि बढाउन खोज्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् । 

गत जेठ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । 

उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले त्यसलाई संसदको अभिलेख (रेकर्ड) बाट हटाउन र प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।

यसै विषयलाई लिएर विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् भने सरकार र विपक्षीबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ ।

Share News