काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी ए२७ ५जी सार्वजनिक गरेको छ । कम्पनीले एआई (कृत्रिम बुद्धिमत्ता) सुविधा, उच्च रिफ्रेस रेटको डिस्प्ले, दीर्घकालीन सफ्टवेयर सपोर्ट र सहज किस्ता सुविधासहित नयाँ फोन बजारमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ए२७ ५जी कम मूल्यमा एआई सुविधा, भरपर्दो कार्यसम्पादन र लामो समयसम्म सफ्टवेयर अपडेट चाहने प्रयोगकर्तालाई लक्षित गरेर ल्याइएको हो ।
सामसङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजमार्फत एआई प्रविधिलाई अझ धेरै प्रयोगकर्ताको पहुँचमा पुर्याउने उद्देश्य रहेको बताए । उनका अनुसार कम्पनीले २४ महिनासम्मको ईएमआई सुविधा सुरु गर्दै अत्याधुनिक प्रविधिलाई थप सहज रूपमा उपलब्ध गराउने प्रयास गरेको छ ।
ग्यालेक्सी ए२७ ५जीमा ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट तथा नयाँ इन्फिनिटी–ओ डिजाइन दिइएको छ । यसमा ४ न्यानोमिटर स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर प्रयोग गरिएको छ, जसले दैनिक प्रयोग, भिडियो स्ट्रिमिङ र एआईमा आधारित एप सञ्चालनलाई सहज बनाउने कम्पनीको दाबी छ ।
फोनमा भ्वाइस ट्रान्सक्रिप्सन, गुगल जेमिनी र पर्प्लेक्सिटी जस्ता एआई सहायकको सपोर्ट उपलब्ध छ । यी सुविधा विद्यार्थी, व्यवसायी तथा नियमित रूपमा नोट रेकर्ड गर्ने प्रयोगकर्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।
फोटोग्राफीका लागि ५० मेगापिक्सेल ओआईएस मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड, २ मेगापिक्सेल म्याक्रो र १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा दिइएको छ । साथै ५,००० एमएएच ब्याट्री, २५ वाट फास्ट चार्जिङ, सामसङ नक्स भल्ट सुरक्षा प्रणाली तथा आईपी६४ स्तरको धुलो र पानी प्रतिरोधी सुविधा पनि समावेश गरिएको छ ।
ग्यालेक्सी ए२७ ५जी ६ जीबी र्याम/१२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम/५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ। यी मोडलको मूल्य क्रमशः रु ५५ हजार ९९९ र रु ६९ हजार ९९९ तोकिएको कम्पनीले जनाएको छ ।
नयाँ फोन खरिद गर्ने ग्राहकलाई पुरानो फोन साट्दा ८ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २४ महिनासम्मको ईएमआई सुविधा र १२० जीबी एनसेल डाटा उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रु १,५१९ प्रतिमहिनादेखि किस्तामा ग्यालेक्सी ए२७ ५जी खरिद गर्न सकिनेछ ।