नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–३, नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका नन्दा कुमारी शाहीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा सुविधा लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा शाहीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार शाहीले २०६६ मंसिर ३ गते उक्त विद्यालयमा बालविकास शिक्षक पदमा नियुक्ति लिन भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट माध्यमिक तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेकी थिइन् ।

उक्त नक्कली प्रमाणपत्रका आधारमा सरकारी पदमा नियुक्ति भई तलब, भत्ता तथा अन्य सरकारी लाभ र सुविधा लिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

आयोगले शाहीको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर भएकाले सोही ऐनअनुसार कैद र जरिवानाको सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

Share News