काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले आत्मदाह प्रयास गरे । बिहीबार दिउँसो उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।
तत्कालै नेपालीलाई घटना वरपर भएका केही प्रहरी र व्यक्तिले उद्धार गरेर वीर अस्पताल पुर्याएका थिए । गम्भीर अवस्थामा अस्पताल पुर्याइएका नेपालीको आज बिहान मृत्यु पनि भइसकेको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरीले विभाग अगाडि गेटमा नेपाली उभिएपछि केहीबेर मोटरसाइकल चालक नेपाली र नगर प्रहरीबीच भनाभन भएको थियो । सार्वजनिक स्थानमा पार्किङ गर्न नहुने भन्दै चालकसँग नगर प्रहरीले विवादसमेत गरेका थिए ।
मुगुको सोरु गाउँपालिका-१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय बिहीबार (२५) गते नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका थिए ।
उनी काठमाडौंमा राइड सेयरिङ गर्दै गुजारा गरिरहेका थिए । उनी हिमाली जिल्ला मुगुबाट काठमाडौं उपत्यकामा फरक जीवनशैली बाँच्ने लालसा बोकेर उपत्यका आएका थिए ।
राज्य अभिभावक बन्ला र सुखका दिनमा परिवारसँग बिताउन पाइने आशामा संघर्ष गर्न राजधानी भित्रिएका थिए । त्यहीँ राजधानीभित्र अभिभावक रक्षक हुनुपर्नेमा भक्षक बन्दा नेपालीले ज्यानसमेत गुमाए ।
बाइकमा ह्वील लकबाट सुरु भएको विवाद आज राज्यको विवेकमा लक लागेको छ । नेपालीको मृत्युले समग्र राज्य प्रणालीको करूण र विवेकमा लक लाग्दा सोच्न बाध्य बनाएको छ ।
पछिल्लो केही वर्षयता काठमाडौं महानगरपालिकाले सहरलाई सुन्दर र व्यवस्थित बनाउने अभियान चलाएको छ । अव्यव्यवस्थित पार्किङ गर्न नदिने र त्यस्ता सावरीसाधनलाई तुरुन्त कारबाही गर्ने गरेको छ ।
काठमाडौंका चोक र गल्लीमा नगर प्रहरीदेखि ट्राफिक प्रहरीलाई देख्न सकिन्छ । अनुशासन सिकाउन बसेका भन्दा पनि उनीहरू नागरिकलाई त्रासमा राख्न ज्यान लिन बसेका जस्ता देखिन्छन् ।
जसले सडक सुरक्षाभन्दा नागरिकलाई त्रसाउन बसे जस्तो आभास दिलाउने गरेका छन् । भाषाशैलीमा मिठास भन्दा पनि पैसा संकलन पहिलो प्राथमिकतामा पर्ने गरेको छ ।
मुलुककै बागडोर सम्हालेका बालेन्द्र शाह यतिखेर प्रधानमन्त्री छन् । उनको गीतमा कोरस साउन्ड 'गरिबको चमेली बोल्दिने कोही छैन' खुबै चर्चा पायो । जुन गीतले सामाजिक क्षेत्रको विकृति र विसंगतिलाई उजागर गरेको थियो ।
शाह समाजमा पछाडि परेका, निमुखा र गरिब वर्गको पीडा सुनिदिने वा उनीहरूको पक्षमा बोल्दिने गीतको सहाराले नेपाली राजनीतिमा भनौं वा सत्ताको आसनमा छन् । तीनै गीतका मर्म बुझ्न र सुन्न सक्ने प्रधानमन्त्री भएका मुलुकमा नेपालीले ज्यान गुमाउँदा एक शब्द स्टाटस लेख्न भ्याएका छैनन् ।
सिंहदरबारबाट केही किलोमिटर परमात्र रहेको वीर अस्पतालमा सान्त्वनाका निम्ति उपस्थित हुन सकेका छैनन् । जुनबेला प्रधानमन्त्री हुँदै थिए सोही समयमा उनी युवाले सबैभन्दा बढी रुचाएका व्यक्तिमा परेका थिए । आज एक युवा सदाका लागि सुतिरहँदा सिंहदरबारबाट वीर अस्पतालको भीडलाई कालो चस्माले हेरिरहेका होलान् !
कुनै समय उनी पनि काठमाडौं महानगरका प्रमुख थिए । जुनबेला नगर प्रहरीलाई सक्रिय बनाएर तथा उनीहरूको कामबाट वाहावाही बटुलेका थिए ।
आजै तिनै नगरप्रहरी अथवा ट्राफिक प्रहरीले सडकमा चालकलाई कारबाही गर्नु शिक्षा र ज्ञान दिन बसेका ठान्नेले अन्याय गर्दा बोल्न र शब्द लेख्न भ्याएनन् । राज्यले भने जरिवानाबापतको एक रसिद शिक्षा र ज्ञानको ठूला ग्रन्थ ठानिरहेको छ ।
स्थानीय सरकारदेखि केन्द्रीय सरकारले राजश्व संकलनलाई विकासको मुख्य स्तम्भ मानिरहेको छ । राज्यभित्र सबैभन्दा पहिले नागरिकलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा सुरक्षित ठानिनुपर्छ ।
सबैभन्दा पहिले राज्य उपस्थित हुने भनेको सडक र सार्वजनिक स्थानमा हो । सडकमा ट्राफिक प्रहरी वा नगर प्रहरीदेखि डराएर भाग्नुपर्ने अवस्था छ ।
पार्किङ गरेका सवारीसाधानलाई ट्राफिक प्रहरी र नगर प्रहरी गाडी लिएर आउँछ टपक्क टिपेर बग्गी कारखनामा पुर्याएपछि एक हजारको रसिद थमाउँछ । त्यहीँ राजश्वको लोभले आज गणेश नेपाली आगोमा लतपतिएर ज्यान गुमाउन बाध्य भए ।
सडकको किनारामा जीवन बाँच्न खोज्नेहरू राज्यबाट अपहेलित र मारिन बाध्य भएका छन् । कोही सडक किनारा रहेको खोलामा हाम फाल्छन त कोही भने सडकमै जल्न बाध्य भएका छन् ।
केही वर्षअघि बानेश्वरमा सडक अगाडि प्रेम आचार्यले आत्मदाह गरेका थिए । मुलुकमा राज्य हराएको सरकार पैसा उठाउन व्यस्त छ । नागरिकहरू ज्युँदै जल्दा राज्य पहिलो नभइ पैसा हुन थालेको छ ।
गणेश नेपालीको मृत्यु प्रकरणमा जीविकोपार्जनका निम्ति संघर्ष गरिरहेका नागरिकलाई अपराधी झैं व्यवहार गर्नु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने पूर्वमन्त्री तथा उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले बताएका छन् ।
‘गरिब र असहाय परिवारलाई विकल्पबिना विस्थापित गर्नु, र उनीहरूलाई निराशाको यस्तो मोडमा पुर्याउनेलाई स्वीकार्न नसक्ने उनले बताएका छन् ।
सरकार, स्थानीय तह र सम्बन्धित निकायलाई कठोर निर्णय लिनुअघि त्यसको मानवीय प्रभावबारे पनि गम्भीरतापूर्वक सोच्न तामाङले आग्रह गरेका छन् ।
राज्य गरिबमुखी होस् भनेर त्यत्रा आन्दोलन गरेका जनताले आज फेरि गरिबमारा सरकार बेहोर्नु परेको पत्रकार नारायण वाग्लेले बताएका छन् । ‘अहिले राज्यको व्यवहारले शब्दहरू आफै शक्तिहीन भएका छन्,’ उनले भने ।
काठमाडौंमा दुःख गरेर जीविका चलाउने मुगुका गणेश नेपालीप्रति श्रद्धाञ्जली दिएर मात्र नपुग्ने उनको भनाइ छ । ‘क्षमायाचनाले पनि पुग्दैन । रवैया फेर, नभए फेरिन तयार होऊ,’ उनले थप अगाडि भने ।
काठमाडाैं महानगर प्रहरीको ह्वीललक आतंकका कारण मुगुका गणेश नेपालीले ज्यान गुमाएको संविधानविद भीमार्जुन आचार्यले बताएका छन् ।
‘स्थानीय र केन्द्रीय सरकारबाट सवारीसाधन चलाउने प्रत्येक सर्वसाधारण यो आतंकबाट पछिल्ला दिनमा प्रताणित बन्ने गरेका छन्,’ उनले भनेका छन्, 'के यस्तो आतंक र बर्बरता मच्चाउने छुट राज्य र महानगरलाई छ ? खोइ नि:शुल्क पार्किङको व्यवस्था काठमाडाैं मा ? कतै त सवारी साधन एकछिन ठडाउनै पर्ने होला नि ।'
पार्किङलाई अपराधिककरण गर्ने पर्छ ? के यो नगरमा सामान्य मान्छे बस्नै नपाउने हो ? उनले प्रश्न गरेका छन् ।
सांसदहरु र नेताहरूले गरे आलोचना
गणेश नेपालीको आत्मदाह प्रकरणमा विभिन्न पार्टीका नेता तथा सांसदहरूले पनि सरकारको आलोचना र आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक कवितासँगै सरकारप्रति कटाक्ष गरेका हुन् । ‘२०८३ असार २५ गते त्रिपुरेश्वरमा मुगुका एउटा २५ वर्षीय युवा गणेशले गरेको अकल्पनीय आत्मदाह प्रयासले निर्मम शहरको विवेकहीन शासन पद्दतिको मुहार चिनाएको हो,’ उनले फेसबुकमार्फत भनेका छन्, ‘यो दशकौंदेखि गिजोलिएको राज्य प्रणाली र शासन व्यवस्थाको उपज हो ।’
उनले जनताको मनोबल उकास्ने काम नगरी सजाय, दण्डले थिति बस्छ भन्ने बुझाइ गलत भएको पनि बताएका छन् ।
‘उच्च कर, कडा दण्ड, निर्मम सजाय र चर्को जरिवानाले थिति बस्छ र ढुकुटी भरिन्छ भन्ने बुझाई सर्वथा गलत छ। यसरी सोच्नेहरु सधै असफल भएका छन्,’ उनले भनेका छन् ‘आम जनताको मनोबल उकास्ने गरी सरल र सहज नीति, कानून तथा शासकीय शैली चाहिन्छ ।’
नेपाली कांग्रेसकै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेशले बाध्य भएर आत्मदाहको प्रयास गरेको बताएकी हुन् । संसद बैठकमा बोल्दै उनले २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेको स्मरण त्यतिखरे बालेन बालेनले लेखेको स्टाटस स्मरण गर्न अनुरोध गरिन् ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानाले गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गरेकी छन् । ‘गणेश नेपाली भाइप्रति एकदमै गम्भीर जुन घटना घट्यो यसमा सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन्, ‘अबदेखि कुनै नेपालीहरूले यसरी आत्मदाह गर्नु नपरोस् ।’
यस्तै, शुक्रबार प्रतिनिधिसभामा बैठकमा श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले गणेश नेपालीको मृत्युको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गरिन् । ‘गणेश नेपालीको मृत्युको कारण आज हामी सम्पूर्ण नेपालीवासी दुखी छौं’ उनले भनेकी छन्, ‘सम्बन्धित मन्त्रालयले छानबिन गरी मृतकको परिवारलाई राहत दिन अनुरोध गर्दछौं ।’
नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले पनि आफ्नो निर्वाचन क्षेत्रका २५ वर्षीय गणेश नेपालीको मृत्युका विषयमा सरकारले ‘हैकमवाद’ चलाएको आरोप लगाएका छन् । उनले नेपालीको मृत्युको विषयमा सरकारले ‘नाटक’ गरेको समेत बताए ।
बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले पनि बालेनको प्रेमराज आचार्यको आत्मदाहमा लेखेको स्टाटस स्मरण गर्न अनुरोध गरेका छन् ।
नेकपा एमालेले पनि नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा पारदर्शिता, सुशासन र युवा रोजगारीको नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार आफ्ना शृङ्खलाबद्ध जनविरोधी गतिविधिका कारण जनतासामु असफल बन्दै गएको आरोप लगाइएको छ । राज्यले गरिब तथा निमुखा नागरिकको संरक्षण गर्नुको सट्टा उनीहरूको गाँस, बास र जीविकामाथि प्रहार गरिरहेको एमालेको दाबी छ ।
यस्तै, शुक्रबारको संसद बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गणेश नेपालीको निधनको कारण राज्यको नीति भएको बताएका छन् । ट्राफिक जरिवानाको नीतिका कारण नेपालीले आत्मदाह गरेको उनले बताए ।
यहाँनेर उनले प्रश्न गरे, ‘काठमाडौं धनीहरूको मात्रै हो ?’ राज्यको नीति, मन्त्रिपरिषद्का निर्णय हेर्दा सरकार धनीहरूको पक्षमा रहेको र गरिबहरूको पक्षमा नरहेको थाहा लाग्ने बताए । कर युरोप र अमेरिकाको जस्तो लिने तर सुविधा नदिने अवस्था रहेको उनको भनाइ छ । काठमाडौंमा गरिबलाई बस्न गाह्रो भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।