काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट अगाडि आत्मदाह प्रयास गर्ने गणेश नेपाली राइड सेयरिङको चालक रहेको खुलेको छ ।
नेपालीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अनलाइन प्लेटफार्ममार्फत मोटरसाइकबाट यात्रु ओसारपोसारको काम गर्दै आएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएको खुलेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । राइड सेयरिङका चालक भएकाले विभागका वरपर ग्राहकको खोजीमा पुगेको हुन सक्ने उनले बताए ।
घटनाको बारेमा प्रहरीले बुझ्ने प्रयास गरिरहेको छ ।
प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका हुन् ।
घटनालगत्तै प्रहरीले उनको उद्धार गरी काठमाडौंको महाबौद्धस्थित वीर अस्पताल पुर्याएको छ । अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।