काठमाडौं । २०७९ साल माघमा संसद भवन अगाडि व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरी ज्यान गुमाएपछि तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले लामो प्रतिक्रिया दिँदै त्यसलाई ‘राज्यको असफलताको परिणाम’ भनेका थिए ।
व्यवसायदेखि निराशा, सहयोगको याचना, सुरक्षा र उद्धारसम्म हरेक चरणमा राज्य चुकेको भन्दै उनले आचार्यको मृत्यु राज्यप्रतिको विद्रोह भएको टिप्पणी गरेका थिए ।
संयोग नै मान्नुपर्छ, त्यतिबेला ‘असफल राज्य’ को प्रश्न उठाउने बालेन अहिले देशको प्रधानमन्त्री छन् । तर, साढे तीन वर्षपछि फेरि राजधानीमै अर्को आत्मदाह प्रयास भएको छ ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट अगाडि मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका हुन् ।
घटनालगत्तै प्रहरीले उनको उद्धार गरी काठमाडौंको महाबौद्धस्थित वीर अस्पताल पुर्याएको छ । उनको उपचार भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार गणेश नेपाली राइड सेयरिङ चालक हुन् । उनी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अनलाइन प्लेटफर्ममार्फत मोटरसाइकलबाट यात्रु ओसारपसार गर्दै आएका थिए ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ‘ह्वील लक’ लगाएको खुलेको छ ।
राइड सेयरिङ चालक भएकाले उनी राहदानी विभाग वरपर ग्राहकको खोजीमा पुगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए ।
यद्यपि, उनले आत्मदाहको प्रयास किन गरे भन्ने स्पष्ट कारण अझै खुलेको छैन । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।
यस्ताे थियाे बालेनकाे स्टाटस
एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।
नागरिकका रुपमा, जनप्रतिनिधीका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा हामी सबै असफल भइरहेका छौं। नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमका रुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।
एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सीपहरूको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरूको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।