खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका आरोप लगाएका छन् । बिहीबार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उनले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित विचौलियाले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दाबी गरेका हुन् । 

प्रहरीले खरिद प्रक्रियामा भएका भनिएका बदमासीसम्बन्धी माग गरिएका कागजात अझै उपलब्ध गराए–नगराएकोबारे समितिमा जानकारी गराउन पनि उनले समिति सभापतिलाई आग्रह गरे । समितिको यसअघिको बैठकले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी कागजात उपलब्ध गराउन माग गरेको थियो ।

सुनारले पछिल्लो समयमा पनि प्रहरीले करोडौँ रुपैयाँका टेण्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामाथि प्रश्न उठाए । यसअघि समितिमा आफूले उठाएको प्रश्नमा आफू अडिग रहेको बताउँदै उनले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भएमा अदालत जान चुनौती दिए । आफूले उठाएका प्रश्नको जवाफ दिन र कानुनी प्रक्रियामा उपस्थित हुन तयार रहेको उनको भनाइ छ ।

'हामीले १५ दिनभित्रमा त्यो प्रहरीको स्रोत साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि अझै बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ । निश्चित विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्,' उनले भने, 'अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु । कहीँकतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टी अदालत छ, गएर मुद्दा हाल्नुहोला ।'

उनले बैठकमा सांसदहरूबीच हुने बहस र व्यवहारप्रति पनि आपत्ति जनाए । समितिको बैठकमा कुनै विषय नियमावलीविपरीत भएमा सभापतिले तत्काल रुलिङ गर्नुपर्ने तर एक सांसदले अर्को सांसदलाई धम्क्याउने, घेराबन्दी गर्ने वा हतोत्साहित गर्ने व्यवहार स्वीकार्य नहुने बताए । 

जनताबाट निर्वाचित प्रत्येक सांसदले समितिमा आफ्ना प्रश्न राख्ने सार्वभौम अधिकार रहेको उनको भनाइ छ । सामान्य ढंगले प्रश्न गरेर भ्रष्टाचारको गहिराइमा पुग्न नसकिने भन्दै उनले समितिमा उठाइने प्रश्न निर्मम, गम्भीर र गहिरो हुनुपर्ने बताए । समितिमा रहँदासम्म भ्रष्टाचार र खरिद प्रक्रियासम्बन्धी विषयमा आफूले कडा प्रश्न उठाइरहने सुनारको भनाइ छ ।

Share News