सार्वजनिक सवारी साधनको भाडा घट्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भोलिदेखि देशभर सञ्चालन हुने लामो दूरीका (अन्तर-प्रदेश) सार्वजनिक सवारी साधनको भाडा घटाउने तयारी गरेको छ । 

नेपाल आयल निगमले बुधबार बिहानदेखि लागू हुनेगरी मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेसँगै विभागले भाडा समायोजनको प्रक्रिया अगाडि बढाएको हो ।

यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार भोलि सम्ममा नयाँ भाडा दर कार्यान्वयनमा आउनेछ ।

निर्देशक भुसालले भने, ‘तेलको मूल्य समायोजन भएसँगै गाडी भाडा पनि समायोजन गर्ने तयारी भइरहेको छ । भोलिसम्ममा नयाँ भाडा दर लागू हुनेछ । ’

उनका अनुसार यो समायोजन देशभरका अन्तर-प्रदेश चल्ने सार्वजनिक सवारीको हकमा लागू हुनेछ । भाडा कतिले घट्छ भन्ने विषयमा स्पष्ट नभए पनि, पेट्रोलियम पदार्थको मूल्य घटेको अनुपातमा वैज्ञानिक विधिबाटै भाडा निर्धारण गरिने विभागले जनाएको छ ।

‘भाडा केही मात्रामा घट्छ, यसअघि पनि मूल्य घटबढ हुँदा जसरी समायोजन गरिन्थ्यो, त्यसैगरी नै यो पटक पनि हुनेछ,’ भुसालले थपे । 

यसैगरी यातायात व्यवसायीहरुले पनि भाडादर घटाउन आग्रह गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारी साधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनु आवश्यक भएको भन्दै यसको कार्यान्वयन तत्काल गर्न आग्रह गरे ।

‘इन्धनको मूल्य बढ्दा सार्वजनिक यातायातको भाडा तत्काल बढाइने, तर मूल्य घट्दा समयमै समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवैलाई अन्योलमा पार्ने गरेको छ,’ उनले भने।

उनका अनुसार सरकारले हाल लागू गरेको भाडा निर्धारण प्रणालीमा कुल भाडाको ३५ प्रतिशत भार इन्धनको मूल्य र बाँकी ६५ प्रतिशत सवारी साधनको सञ्चालन खर्च, चालक-सहचालकको तलब-ज्याला, मर्मतसम्भार, स्पेयर पाट्र्स, बीमा, बैंकिङ लागतलगायतका शीर्षकमा आधारित छ ।

त्यसैले इन्धनको मूल्य घटबढ हुँदा अन्य लागतलाई यथावत् राखी इन्धनसँग सम्बन्धित ३५ प्रतिशत अंशका आधारमा मात्र भाडा समायोजन गर्नुपर्ने सिटौलाको तर्क छ ।

उनले सार्वजनिक यातायातको भाडा निर्धारण वैज्ञानिक र पारदर्शी हुनुपर्नेमा जोड दिँदै इन्धनको मूल्य मात्र होइन, सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पाट्र्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकहरूको समेत नियमित मूल्याङ्कन गरिनुपर्ने बताए ।

यातायात क्षेत्रलाई दिगो, व्यवस्थित र विश्वसनीय बनाउन सरकार, नियामक निकाय, व्यवसायी र उपभोक्ताबीच आपसी विश्वास कायम हुनु आवश्यक रहेको उनको भनाइ छ ।

 निगमले इन्धनको मूल्य घटाएपछि स्वचालित भाडा प्रणाली अनुसार विभागले भाडा समायोजन गर्न लागेको हो । यस निर्णयले सर्वसाधारणलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

 

Share News