काठमाडौं । विश्वभरका बीमा कम्पनीहरूले बढ्दो प्रतिस्पर्धा र बजारमा घट्दो नाफाको दबाबबीच अन्डरराइटिङ (जोखिम मूल्याङ्कन) प्रक्रियालाई स्वचालित बनाउन एआईको प्रयोग बढाइरहेका छन् । यद्यपित हालसम्म विश्वभकरका ५ मध्ये २ वटा बीमा कम्पनीले मात्रै अन्डरराइटिङमा एआई प्रयोग गरिरहेको पाईएको छ ।
सोलर्स कन्सल्टिङले सार्वजनिक गरेको अध्ययनअनुसार १० प्रमुख अन्तर्राष्ट्रिय बजारमा बीमा क्षेत्रमा एआईका १२६ वटा क्षेत्र पहिचान गरेका छन् । जसमध्ये १३ वटा अन्डरराइटिङ विभागमै सञ्चालनमा रहेका छन् । अध्ययनले विगतमा दाबी व्यवस्थापन र वितरण भन्दा डिजिटल रूपान्तरणमा पछाडि रहेको अन्डरराइटिङ विभागमा अहिले एआई लगानी तीव्र रूपमा बढ्न थालेको देखाएको छ ।
एआईको बढ्दो प्रयोगसँगै बीमा कम्पनीहरूको जनशक्ति संरचनामा पनि परिवर्तन देखिएको छ । सन् २०२५ मा अन्डरराइटिङसम्बन्धी ज्ञान भएका आईटी विज्ञको माग दोब्बरले बढेको छ । अध्ययनअनुसार हाल २० प्रतिशत व्यवसायिक रुपमा सञ्चालनमा रहेका बीमा कम्पनीहरुले एआईमार्फत नयाँ व्यवसायका प्रस्तावहरू स्वतः वर्गीकरण गर्ने, विभिन्न ढाँचाका कागजातबाट आवश्यक विवरण निकाल्ने तथा प्रारम्भिक जोखिम विश्लेषण गर्ने काम गरिरहेका छन् ।
विश्लेषकहरूका अनुसार आगामी १२ देखि २४ महिनाभित्र एआईले जोखिम व्यवस्थापन, मूल्य निर्धारण तथा अन्डरराइटिङको दैनिक कार्यशैलीमा उल्लेखनीय परिवर्तन ल्याउनेछ ।
हाल एआई मुख्यतः डकुमेन्ट प्रोसेसिङ र प्रारम्भिक छनोटमा सीमित भए पनि कम्पनीहरूले यसलाई मूल्य निर्धारण प्रणाली र डिजिटल अन्डरराइटिङ प्लेटफर्मसँग प्रत्यक्ष जोड्ने तयारी गरिरहेका छन् । यसले विद्यमान बीमा पोर्टफोलियोको विश्लेषण तथा जोखिम मूल्याङ्कनलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । यसबाट नियमित र दोहोरिने काम एआईले गर्ने तथा जटिल निर्णयमा भने मान्छेले नै बढी समय दिन सक्ने वातावरण बन्ने अध्ययनले उल्लेख गरेको छ ।
क्षेत्रअनुसार एआईको प्रयोग विधि फरक फरक देखिएको छ । अस्ट्रेलियामा कम्पनीहरू मर्जरपछि पुराना प्रणाली आधुनिकीकरण गर्दै व्यावसायिक अन्डरराइटिङलाई पूर्ण रूपमा डिजिटल बनाइरहेका छन् । लन्डन बजारमा स्प्रेडसिटमा आधारित कार्यप्रणाली हटाएर मूल्य निर्धारण प्लेटफर्मलाई अन्डरराइटिङ प्रणालीसँग जोड्ने काम गरिरहेका छन् ।
उत्तर अमेरिकामा व्यक्तिगत बीमाका लागि प्रयोग भइरहेका एआई प्रणालीलाई व्यावसायिक तथा जोखिममा विस्तारमा भइरहेको छ ।