एकै मञ्चमा चार पूर्वप्रधानमन्त्री, पाँच वर्षपछि ओली-नेपालको भेट

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल करिब पाँच वर्षपछि पहिलोपटक एउटै राजनीतिक मञ्चमा सँगै देखिएका छन् । 

दुवै नेता मदन भण्डारी फाउन्डेसनले मदनकुमार भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा एउटै मञ्चमा बसेका हुन् । 

लामो समयपछि ओली र नेपाल एउटै कार्यक्रममा सहभागी भएपछि राजनीतिक वृत्तमा यसको विशेष चर्चा भएको छ ।

२०७८ साल भदौमा माधव नेपालले नेकपा (एमाले) विभाजन गर्दै नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि दुई नेताबीचको राजनीतिक सम्बन्ध चिसिएको थियो । 

त्यसयता उनीहरू राज्यका केही औपचारिक समारोहमा उपस्थित भए पनि कुनै राजनीतिक कार्यक्रममा एउटै मञ्च साझा गरेका थिएनन् । 

मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रमले भने पाँच वर्षयता टाढिएका दुई कम्युनिष्ट नेतालाई एउटै मञ्चमा उभ्याउने संयोग जुराएको हो । 

कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि भण्डारीको राजनीतिक योगदान, जनताको बहुदलीय जनवाद (जबज) र समकालीन राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए ।

यद्यपि, ओली र नेपालबीच कार्यक्रममा कुनै विशेष संवाद वा राजनीतिक सन्देश आदानप्रदान भएको भने देखिएन । 

उनीहरूको एउटै मञ्चमा उपस्थितिलाई भने पछिल्लो राजनीतिक परिवेशमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ । 

कार्यक्रममा चार पूर्वप्रधानमन्त्रीहरू आज एकै मञ्चमा देखिएका हुन् । पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल एकै मञ्चमा देखिएका हुन् । कार्यक्रमको प्रमुख अथिति भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी छिन् ।

Share News