दर्ता गर्ने भन्दै प्रहरीबाट छुटेका १५ कन्सल्टेन्सीका सञ्चालक पक्राउ

सांकेतिक तस्विर

काठमाडौं । काठमाडौं उपत्यकामा दर्ता नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधि पक्राउ परेका छन् ।

काठमाडौं,ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधि पक्राउ परेका हुन् ।

गुरुबा स्टडी ग्लिडर, लिक्सिको एजुकेशन, पास्कल एजुकेशन, एपीटोमी एजुकेशन, मेगाटेक एजुकेशन, स्किल पोइन्ट एजुकेशन, भाइब्रेन्ट एजुकेशन, ड्रिम एजुकेशन, युनिभर्सल गेटवे, भिक्टोरी एजुकेशन, २४ हावर्स एजुकेशन, ग्रिनर एजुकेशन, ग्लोबल इम्प्याकट, युरेसी एजुकेशन र ब्लुम अबोर्डका सञ्चालक तथा प्रतिनिधि पक्राउ परेका हुन् ।

अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूबाट १८ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो । पक्राउ परेका मध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कन्सल्टेन्सीले यसअघि दर्ता प्रक्रिया रहेको भनी शिक्षा मन्त्रालयको रोहबरमा छुट पाएका थिए। शिक्षा मन्त्रालयमा पुनः दर्ता नभएकाले पक्राउ पुर्जी गरी नियन्त्रणमा लिएको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

Share News