काठमाडौं । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन् ।
मोहन्याल गाउँपालिका-७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान सञ्चालन गरिएको सैन्य अभ्यासका क्रममा ग्रिनेड पड्काउँदा हुद्दा हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए ।
दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेका विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो करिब १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन । उनको अवस्था सामान्य रहेको बताइएको छ । थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
प्रहरीका अनुसार सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएको टोलीले ग्रिनेड प्रयोग गरिरहेको बेला उक्त दुर्घटना भएको हो ।
सैन्य तालिमकै क्रममा भएको विस्फोटले एक सैनिकको ज्यान गएको र अर्का अधिकारी घाइते बनेपछि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।