पार्टी त्यागेपछि काँग्रेसले गुमायो गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष

काठमाडौं । पार्टी त्याग गरी अन्य दलमा प्रवेश गरेपछि नेपाली कांग्रेसका ३ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ ।

नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरूले पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेको व्यहोरा सम्बन्धित दलको केन्द्रीय कार्यसम्पादन समितिले निर्वाचन आयोगलाई जानकारी गराएपछि पद रिक्त गरिएको हो । 

निर्वाचन आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद स्वतः रिक्त भएको निर्णय गरिएको हो ।

पद रिक्त हुनेमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उप-महानगरपालिका–३ का वडा अध्यक्ष विष्णु ढकाल रहेका छन् ।

Share News