गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले उत्पादनमा आधारित भएर मूल्याङ्कनका आधारमा विभिन्न विधाका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय उत्पादन गर्दै स्थानीय आर्थिक विकासमा योगदान पु¥याएका किसानलाई गाउँपालिकाले नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईका अनुसार खाद्यान्न बाली धान तर्फ वडा नं ६ रजस्थलका किसान विनोदकुमार श्रेष्ठ र कोदो उत्पादनतर्फ सोही वडाका डालबहादुर पछाईलाई पुरस्कृत गरिएको हो । त्यस्तै गहुँ उत्पादनतर्फ वडा नं ६ का उमेश घिमिरे र मकै उत्पादनतर्फ वडा नं ७ वाग्लाका तीर्थराज पन्थीलाई सम्मान गरिएको पालीका उपाध्यक्ष सिता गिरीले जानकारी दिइन् ।
पशुपालनतर्फ खसीबोका उत्पादनमा वडा नं २ पिपलधाराका कृष्णप्रसाद खनाल र अण्डा उत्पादनमा वडा नं ६ रजस्थलका कृष्ण केसीलाई पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । यसैगरी १० वटाभन्दा बढी दुहुना गाई–भैँसी पालन गरी पशुपालन क्षेत्रमा योगदान पु¥उने रजस्थलका मेघनाथ अर्याल र वस्तुका रविन्द्र घिमिरेलाई विशेष सम्मान प्रदान गरिएको गिरीले जानकारी दिइन् ।
सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले उत्पादनमा आधारित कृषि प्रणालीलाई प्रोत्साहन गर्दै किसानको मेहनत र योगदानको कदर गर्न वार्षिक रूपमा उत्कृष्ट कृषकलाई सम्मान गर्ने गरिएको बताए । उनले यस्तो कार्यक्रमले किसानलाई थप उत्साहित बनाउँदै कृषि तथा पशुपालन क्षेत्रको उत्पादन र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
उपाध्यक्ष गिरीले यस्ता पुरस्कार र सम्मानले किसानहरुमा उत्साह भर्ने अपेक्षा पालिकाले गरेको वताइन् । उनले पालीका भित्रका तमाम् किसान साथिहरुमा उत्साह श्रृजना गर्न पालीकाले यस्ता कार्यक्रम निरन्तर गरीरहने जानकारी दिइन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष पोख्रेल, उपाध्यक्ष गिरी, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, प्राविधिक कर्मचारी तथा स्थानीय कृषकहरूको उपस्थिति रहेको थियो ।