काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । सोमबार बसेको नगरसभाको बैठकले सदस्यहरूबाट प्राप्त सुझाव तथा संशोधनलाई समेट्दै नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
नगरसभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिका सदस्यहरूबाट प्राप्त राय, सुझाव तथा सल्लाहलाई आधार बनाएर संशोधित नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उनले सदस्यहरूले दिएका सुझावले आगामी बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यवाहक प्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले सुशासन, पारदर्शिता तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै जनतालाई छिटो, छरितो, सरल र सहज सेवा उपलब्ध गराउने लक्ष्यका साथ नीति तथा कार्यक्रम अघि बढाइएको बताइन् । उनले नगरसभा सदस्यहरूबाट प्राप्त नवीन तथा सिर्जनात्मक सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले केही सुझाव महानगरपालिकाले निर्माण गरेका ऐन तथा कानुन संशोधनसँग सम्बन्धित रहेको जानकारी दिँदै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताइन् । 'यहाँहरूले राख्नुभएको राय, सुझाव र सल्लाहलाई आधार बनाएर नीति तथा कार्यक्रमसँगै बजेट निर्माण गर्नेछौं । आर्थिक विधेयक र विनियोजन विधेयकमा पनि यहाँहरूको सुझावले महत्वपूर्ण योगदान पुर्याउनेछ,' उनले भनिन् ।
उनका अनुसार महानगरपालिकाको उद्देश्य सुशासनयुक्त प्रशासन स्थापना गर्नुका साथै जनमुखी, सरल र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु हो। यसका लागि सदस्यहरूले दिएका रचनात्मक तथा व्यवहारिक सुझावहरू नीति, कार्यक्रम, बजेट तथा कानुनी व्यवस्थामा समावेश गरिनेछ ।
नीति तथा कार्यक्रम स्वीकृत भएसँगै अब आगामी आर्थिक वर्षको बजेट, आर्थिक विधेयक–२०८३ तथा विनियोजन विधेयक–२०८३ प्रस्तुत गर्ने तयारी महानगरपालिकाले थालेको छ । यसका लागि नगरसभाको अर्को बैठक असार ४ गते दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा बस्ने तय गरिएको छ ।
उल्लेखनीय छ, आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यवाहक प्रमुख सुनिता डंगोलले गत बिहीबार नगरसभामा प्रस्तुत गरेकी थिइन् । नगरसभा सदस्यहरूबीच भएको छलफल र प्राप्त सुझावका आधारमा संशोधन गरी उक्त नीति तथा कार्यक्रम अन्ततः सर्वसम्मत रूपमा पारित गरिएको हो ।