काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उपत्यकाको सार्वजनिक यातायात, सुकुम्बासी व्यवस्थापन, जग्गा एकीकरण आयोजना र तीनकुनेको मुआब्जा विवाद समाधान गर्ने लगायतका महत्त्वपूर्ण योजनाहरूलाई प्राथमिकताका साथ समेटेको छ।
महानगरले भृकुटीमण्डपमा अत्याधुनिक सम्मेलन केन्द्र स्थापना तथा सञ्चालन गर्ने योजना अघि सारेको छ।
यसका साथै सुन्धारास्थित धरहरा क्षेत्रको सञ्चालन तथा व्यवस्थापन र काठमाडौं प्लाजा भवनलाई दीर्घकालीन रूपमा सार्वजनिक प्रयोगका लागि महानगरलाई उपलब्ध गराउन नेपाल सरकारसमक्ष अनुरोध गरिएको छ।
संघीय सरकारबाट यी क्षेत्रहरू प्राप्त गर्न पहल गरी प्राथमिकताका साथ योजना कार्यान्वयन गरिने महानगरले जनाएको छ।
यस्तै, कोटेश्वरस्थित तीनकुनेभित्रको अधिग्रहण हुन बाँकी जग्गाको मुआब्जा विवाद सल्टाउन महानगर र नेपाल सरकारले संयुक्त रूपमा बजेट बेहोर्ने भएका छन् । कुल मुआब्जा रकममध्ये काठमाडौँ महानगरले एक तिहाइ र नेपाल सरकारले दुई तिहाइ रकम व्यहोर्ने छन् ।
आर्थिक वर्ष २०८२/८३ को बचत रकमबाट महानगर र सरकार दुवैले आफ्नो हिस्साको कम्तीमा आधा-आधा रकम पहिलो किस्ताका रूपमा भुक्तानी गर्नेछन् भने बाँकी किस्ता आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट बेहोरिने व्यवस्था गरिएको छ।
काठमाडौं उपत्यकाका लागि आवश्यक र उपयुक्त सार्वजनिक यातायातको माध्यम पहिचान गरी सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक समन्वय गरिने भएको छ ।
शहरलाई जीवन्त र समृद्ध बनाउने अवधारणा अनुरूप साझा यातायात मार्फत रात्रिकालीन यातायात सेवालाई क्रमश: विस्तार गरिनेछ। सार्वजनिक यातायात सेवालाई मर्यादित र विश्वसनीय बनाउन सहकार्य गरिने नीतिमा उल्लेख छ ।