काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीका नेता मनबहादुर जिसी (महेश) जुवा तथा कुटपिट मुद्दामा जेल चलान भएका छन् ।
इस्मा गाउँपालिका–५ निवासी जिसी हालै सम्पन्न रास्वपाको जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका प्रत्याशीसमेत रहेका थिए ।
उनी पुरानो मुद्दामा कानुनी सहुलियत लिन जिल्ला अदालत, गुल्मी पुगेका थिए । तर अदालतले उनीविरुद्ध कुटपिटसँगै जुवा–ताससम्बन्धी मुद्दासमेत रहेको देखिएपछि सहुलियत दिन नमिल्ने ठहर गर्दै कारागार पठाएको हो ।
जिल्ला अदालत गुल्मीका श्रेस्तेदार कृष्णप्रसाद भट्टराईका अनुसार जिसीलाई २०५४ साल फागुनमा अदालतले कुटपिट मुद्दामा चार महिनाको कैद सजाय सुनाएको थियो । उक्त फैसला कार्यान्वयन हुन बाँकी रहेको अवस्थामा उनी अदालत सम्पर्कमा आएका थिए ।
अदालत स्रोतका अनुसार जिसीले पुरानो मुद्दामा सहुलियत पाउने अपेक्षासहित निवेदन दिएका थिए । तर कुटपिट मुद्दासँगै जुवा–ताससम्बन्धी अर्को मुद्दामा सजाय भइसकेको पाइएपछि प्रचलित कानुनी व्यवस्थाअनुसार सजाय छुट वा सहुलियत दिन नमिल्ने निष्कर्ष निकालिएको हो ।
अदालती प्रक्रियाअनुसार पहिलो मुद्दाको कैद फैसलामा १५० दिन सहुलियत छुट पाइने व्यवस्था रहेको श्रेस्तेदार भट्टराईले जानकारी दिए ।
तर उनको लगत हेर्दै जाँदा जुवातास मुद्दामा समेत यसअघि नै कैद भुक्तान गरिसकेको भेटिएकोले अदालतको आदेशअनुसार उनलाई कैद सजाय भुक्तानका लागि जिल्ला कारागार गुल्मी चलान गरिएको हो ।