इप्पानको साधारणसभा शुक्रबार, नयाँ विधान पारित भएपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न नपाउने

गलत प्रचारको पछि नलाग्न इप्पानको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन भोलि अर्थात्  जेठ २९ गते आयोजना हुँदैछ । वि.सं. २०५७ माघ ४ गते ८ जना सदस्यबाट सुरु भएको इप्पानमा हाल ६८३ सदस्य आबद्ध भइसकेका छन् । 

शुक्रबार हुने बन्द सत्र पश्चात् पूर्वनिर्धारित कार्यतालिका अनुसार नै निर्वाचन प्रक्रिया अघि बढाउने गरी सम्पूर्ण अन्तिम तयारी पूरा भइसकेको इप्पानले जनाएको छ । 

निर्वाचन कार्यतालिका र नामावली प्रकाशन भई एक उपमहासचिव र ५ सचिवसहित ६ जना पदाधिकारीहरू निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य पदका लागि आवश्यकभन्दा बढी उम्मेदवारी परेकाले चुनावी प्रक्रिया अघि बढिसकेको छ । 

संस्था महासंघमा जान नसक्नुको कारण र विधान संशोधनको विषयलाई लिएर बाहिर आएका भ्रमहरूबारे इप्पानले आफ्नो धारणा स्पष्ट पारेको छ । 

विद्यमान कानुनी व्यवस्था र जिल्ला प्रशासन कार्यालयको मापदण्डका कारण महासंघ गठनमा कठिनाइ देखिएपछि इप्पान कार्यसमितिको बैठकले वर्तमान विधान (२०७८) अनुसार नै नियमित साधारणसभा र अधिवेशन गर्ने निर्णय गरेको थियो। जेठ २५ गते बसेको २०३ औं बैठकले महासंघमा जान नसक्नुको कारण र नयाँ विधान संशोधनको प्रस्तावलाई आगामी साधारणसभामा पेस गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको थियो । 

अध्यक्ष गणेश कार्कीद्वारा प्रस्ताव गरिएको नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाई, अध्यक्ष बन्नका लागि कम्तीमा एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको हुनुपर्ने र २७ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरिएको छ । जुन साधारणसभाबाट पारित भई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि आगामी कार्यकालदेखि लागू हुनेछ ।

कार्यसमितिका सम्पूर्ण निर्णयहरूमा सबै पदाधिकारीले हस्ताक्षर गरेको र कसैले पनि नोट अफ डिसेन्ट (असहमति) नलेखेको अवस्थामा, तिनै निर्णय प्रक्रियामा सहभागी व्यक्तिहरूबाटै इप्पानले अवैधानिक निर्वाचन गर्यो र महासंघको निर्णय खारेज गर्यो भन्दै गलत सूचना प्रवाह गरिएकोमा इप्पानले गम्भीर आपत्ति जनाएको छ । 

योग्य उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भई चुनावी प्रक्रिया अघि बढिसकेको अवस्थामा यस्ता अनर्गल र नकारात्मक प्रचारबाजीले संस्थाको प्रतिष्ठामा आघात पु¥याउने इप्पानको ठहर छ । 

महासंघमा जाने र विधान संशोधन गर्ने जस्ता महत्वपूर्ण विषयहरू साधारणसभामै छलफल गरी पारित गरिने हुनाले यस्ता भ्रममा नपर्न इप्पानले अनुरोध गरेको छ । 

Share News