काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी तथा विदेशी रकमसहित दुई बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
बिहीबार बाटिक एयरवेजको उडान नम्बर ओडी १८३ बाट मलेसिया उड्न लागेको ब्यागेज चेकिङ गर्दा मोहम्मद इमताज अली र एमडी जाकिर हुसेन पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख वसन्त रजौरेले जानकारी दिए ।
उनीहरूको साथबाट ह्याण्ड ब्यागेज चेकिङ एरियामा ब्याग स्क्रिनिङ गर्दा तथा शरीर खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट स्वदेशी तथा विदेशी रकम फेला परेको थियो।
रजौरेका अनुसार उनीहरूले स्वदेशी तथा विदेशी मुद्राहरू सुटकेशभित्र फल्स बटम बनाई लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेका थिए । ३१ लाख ५१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित उनीहरूलाई नियन्त्रएमा लिइएको हो ।
अध्यागमन प्रणालीमा अलीले ३८ पटक र हुसेनले ११ पटक नेपालमा आवतजावत गरेको देखिएको छ । उनीहरू आवतजावत गरेको बारेमा प्रहरीद्वारा थप अनुसन्धान गरिरहेको रजौरेले बताए ।
बंगलादेशी नागरिकबाट फेला पारेको रकम थाप आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको उनले जानकारी दिए ।