काठमाडौं । सरकारले बेडसंख्याअनुसार बुझाउनुपर्ने शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट करिब पौने २ करोड रुपैयाँ असुल गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ती संस्थाहरूबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ बक्यौता असुल गर्ने प्रक्रिया अघि बढाएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा उक्त निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका कैफियतहरूलाई सम्बोधन गर्दै मन्त्रालयले यो कठोर कदम चालेको हो ।
मन्त्रालयका अनुसार स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ बक्यौता रकम असुलीको निर्णय कार्यान्वयन प्रक्रियामा लगिएको हो ।
लामो समयदेखि नियमनमा नआएका र सरकारी राजस्व छली गरिरहेका स्वास्थ्य संस्थाहरूमाथि मन्त्रालयले निगरानी बढाएको हो ।