रविले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेता अनुपस्थित, हर्कको बहिस्कार

को-को भए सहभागी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । सिंहदरबारमा आयोजित बैठकमा विभिन्न दलका प्रतिनिधिहरू उपस्थित भए पनि शीर्ष नेताहरु भने सहभागी नभएका हुन् । 

बैठकका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा लगायत दलका सभापति तथा अध्यक्षहरूलाई निमन्त्रणा गरिएको भए पनि उनीहरू स्वयं उपस्थित भएनन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेको तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर तथा नेकपा तर्फबाट पार्टीका सहसंयोजक माधवकुमार नेपाल सहभागी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङदेन सहभागी भएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन कुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरू बैठकमा अनुपस्थित रहे । यद्यपि दलहरूले आफ्ना प्रतिनिधिहरू पठाएर बैठकमा सहभागिता जनाएका छन् । 

यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि बैठकमा सहभागी भएनन् । उनले आफू पूर्वनिर्धारित कार्यक्रममा व्यस्त रहेकाले बैठकमा उपस्थित हुन नसकेको बताएका छन् । श्रम संस्कृति पार्टीको तर्फबाट समेत कुनै प्रतिनिधि बैठकमा उपस्थित भएका छैनन् । 

null

भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएपछि लामिछानेले समसामयिक राजनीतिक विषयमा प्रमुख दलहरूसँग संवाद र परामर्शका लागि बैठक आयोजना गरेका हुन् । 

रास्वपाका सभापति लामिछाने भारत भ्रमणपछि राजनीतिक संवादलाई तीव्र बनाउन खोजिरहेका बेला आयोजित यो बैठकले आगामी दिनमा दलहरूबीचको सम्बन्ध र सहकार्यको दिशा कस्तो बन्छ भन्ने विषयमा थप चासो उत्पन्न गरेको छ । 
 

Share News