राप्रपामा ठूलो विभाजन, केन्द्रीय पदाधिकारीसहित १८३ नेताले पार्टी छाडे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्  महामन्त्री डा. धवलशमशेर राणानिकट नेता तथा कार्यकर्ताहरूले बिहीबार (आज) संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरूमा शीर्ष नेताहरू डा. राणासहित मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइरालालगायत रहेका छन् । त्यस्तै, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूले पनि पार्टी छाडेको जनाएका छन् ।

null

असन्तुष्ट समूहले बिहीबार सार्वजनिक पत्रकार सम्मेलन गर्दै यो पहिलो चरणको बहिर्गमन मात्र भएको जनाएको छ । आगामी दिनमा थप नेता–कार्यकर्ता पार्टीबाट बाहिरिन सक्ने उसले बताएको छ ।

राजीनामा दिने नेताहरूले राप्रपाको वर्तमान नेतृत्वमाथि पार्टीको मूल नीति, सिद्धान्त र उद्देश्यबाट विचलित भएको आरोप लगाएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व हिनताबोध, कमजोरी तथा आत्मकेन्द्रित शैलीबाट प्रभावित भएको दाबी गर्दै उनीहरूले त्यसकै कारण पार्टी जनताबाट क्रमशः टाढिँदै गएको बताएका हुन् ।

सम्मेलनमा जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुनुपर्ने भए पनि व्यवहारमा त्यसअनुसार पार्टी सञ्चालन हुन नसकेको उल्लेख गरिएको छ । साथै केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टी नेतृत्व तत्कालीन प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएकोप्रति असन्तुष्टि व्यक्त गरिएको छ ।

असन्तुष्ट पक्षले पार्टीभित्र विचार र व्यवहारबीच गम्भीर अन्तर देखिएको आरोप लगाएको छ । ‘विचलन, विरोधाभास तथा भनाइ र गराइबीचको अनमेलका कारण पार्टी जनताबाट दण्डित भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

null

उनीहरूले पार्टीभित्र जवाफदेहिता र स्वेच्छाचारितामाथि नियन्त्रण कायम गर्ने प्रयास गर्दा नेतृत्वले निरंकुश शैलीमा कारबाही गर्ने प्रवृत्ति अपनाएको आरोपसमेत लगाएका छन् ।

राजसंस्था पुन:स्थापनाका आन्दोलनलाई कमजोर बनाउन पार्टीकै मूल नेतृत्व अग्रसर भएको आरोप लगाउँदै असन्तुष्ट पक्षले संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटा पनि प्रस्ताव दर्ता नगरिएको उल्लेख गरेको छ ।

राणाले नयाँ पार्टीमा ६० प्रतिशत महिला र युवाको उपस्थिति रहने दावीसमेत गरे । त्यसमा दुर्गा प्रसाईं पनि समावेश हुने उनले संकेत दिएका छन् । 

राप्रपाभित्रको असुन्तुष्टिलाई लिएर उनले राजीनामा दिएका थिए । राणा समूहको बहिर्गमनले राप्रपाको संगठनात्मक संरचना र नेतृत्वमाथि थप दबाब सिर्जना गर्ने देखिएको छ ।

Share News