काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त आन्दोलनलाई कमजोर बनाउन खोज्ने शक्तिहरूलाई परास्त गर्दै एमालेलाई अझ सुदृढ संगठनका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले वर्तमान परिस्थितिबारे गम्भीर समीक्षा गर्दै एमाले नयाँ ऊर्जा र विश्वासका साथ अगाडि बढ्ने बताएका हुन् ।
उनले कार्यशालामा हुने छलफलले पार्टीभित्र नयाँ उत्साह, आत्मविश्वास र संगठनात्मक जागरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । पार्टीले भोगेका चुनौती र कमजोरीहरूको आत्मसमीक्षा गर्दै जनतामाझ थप मजबुत रूपमा प्रस्तुत हुने उनको भनाइ थियो ।
ओलीले एमालेलाई समाप्त पार्ने उद्देश्यले विभिन्न प्रयासहरू भए पनि ती प्रयास असफल भएको दाबी गरे । 'आगो लगाउनेहरूले आगोले ध्वस्त पार्ने प्रयास गरे, तर एमाले आगोले जल्ने शक्ति होइन,' उनले भने ।
भदौ २३ को घटनालाई स्मरण गर्दै ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउने, बदनाम गर्ने र देशभक्त आन्दोलनलाई धक्का दिने नियतका कारण त्यस्ता घटनाहरू घटाइएको दाबी गरे । उनले यस्ता प्रयासहरूका बाबजुद एमाले आफ्नो विचार, संगठन र जनाधारका बलमा अघि बढिरहेको बताए ।
अध्यक्ष ओलीले पार्टी पंक्तिलाई निराश नहुन आग्रह गर्दै आत्मसमीक्षा, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमार्फत एमालेले नयाँ ढङ्गले आफूलाई स्थापित गर्ने दाबी गरे । उनका अनुसार अहिलेको राष्ट्रिय कार्यशाला केवल सदस्यता नवीकरणको कार्यक्रम नभई पार्टीलाई पुनः ऊर्जावान बनाउने अभियानको महत्वपूर्ण कडी हो ।
'हामी समीक्षा गर्छौँ, कमजोरी सच्याउँछौँ र अझ बलियो भएर जनतामाझ फर्किन्छौँ,' ओलीले भने, 'यो छलफलले एमालेमा नयाँ विश्वास र नयाँ जोस सिर्जना गर्नेछ ।'