काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनको परिणामलाई नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासकै सबैभन्दा ठूलो धक्का र पराजयका रूपमा स्वीकार गरेका छन् ।
बुधबार आयोजित सदस्यता नवीकरण तथा विस्तारसम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उनले पार्टीले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले निर्वाचन परिणामपछि कम्युनिस्ट आन्दोलन समाप्त हुने टिप्पणी र अनुमानहरू गरिए पनि आन्दोलन पुनः उठ्ने दाबी गरेका छन् ।
उनले भने, 'नेपालको कम्युनिस्ट आन्दोलनले यतिबेला गम्भीर धक्काको सामना गरेको छ । फागुन २१ को निर्वाचनसम्म आइपुग्दा हामीले निकै ठूलो क्षति बेहोरेका छौँ । कतिपयले अब यो आन्दोलन उठ्न सक्दैन, सधैँका लागि समाप्त हुन्छ भन्ने अनुमान गरेका छन् । कतिपयले त्यस्तो कामना पनि गरेका छन् ।'
तर यही असफलताबाट शिक्षा लिएर पार्टी पुनः संगठित हुने र जनतामाझ फर्किने उनको विश्वास रहेको छ ।
'स्थापनादेखि आजसम्मको इतिहासलाई हेर्दा यो धक्का इतिहासकै सबैभन्दा ठूलो धक्का हो, यो पराजय इतिहासकै सबैभन्दा ठूलो पराजय हो,' उनले भने । पौडेलका अनुसार पार्टीले यो धक्कालाई चिर्नेछ । असफलताबाट शिक्षा लिनेछ । 'धुलो टकटक्याएर फेरि उठ्नेछौँ र अगाडि बढ्नेछौँ,' उनले भने ।
उनले पार्टी र जनताबीचको सम्बन्ध कमजोर भएको तथ्य पनि स्वीकार गर्दै अब जनतासँगको सम्बन्ध पुनः सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने बताए । 'हामी जनतातिर फर्किनेछौँ, कार्यकर्तातिर फर्किनेछौँ र देशको समग्र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नेछौँ,' उनले भने ।