काठमाडाैं । आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूचीसहित मंगलबार बोलाइएको प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको विरोधका कारण स्थगित भएको छ।
बैठकको कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो । त्यसपछि बजेटमाथि सामान्य छलफल सुरु गर्ने कार्यतालिका तय गरिएको थियो ।
तर, विपक्षी दलहरूको अवरोधका कारण बैठक नियमित रूपमा सञ्चालन हुन नसकेपछि सभामुख डोलप्रसाद अर्यालले आजका लागि निर्धारित कार्यसूची हटाइएको जानकारी गराए । उनले अर्को बैठक जेठ २५ गते बस्ने गरी स्थगित गरिएको घोषणा गरे ।
बैठक स्थगित भएसँगै सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको सामान्य छलफल पनि सुरु हुन सकेन । अब उक्त छलफल प्रतिनिधिसभाको आगामी बैठकबाट अघि बढ्ने अपेक्षा गरिएको छ ।