विपक्षी दल अडानमा कायमै हुँदा प्रतिनिधिसभा बैठक अझै अनिश्चित

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक मंगलबार (आज) अपरान्ह १ बजेका लागि आह्वान गरिए पनि समाचार तयार पार्दासम्म सुरु हुन सकेको छैन । 

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी नमागेसम्म बैठक अघि बढ्न नदिने अडान कायम राखेका छन् ।

संसद् सचिवालयले भने बैठक सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतिनिधिसभाका प्रवक्ता एकराम गिरीले सचिवालय बैठक सञ्चालनका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

यसैबीच नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री तथा सांसद प्रकाशसिंह कार्कीले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सभामुख निष्पक्ष रेफ्रीको भूमिकामा रहनुपर्नेमा खेलाडी बनेर आफै गोल गर्ने शैलीमा अघि बढ्न खोज्नु आपत्तिजनक भएको टिप्पणी गरे ।

सत्तापक्ष र विपक्षी दलबीच जारी विवादका कारण प्रतिनिधिसभा बैठक कहिले सुरु हुने भन्ने विषय अझै अन्योलमै रहेको छ ।

Share News