विपक्षीको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा नियमावली बहुमतले पारित, बैठक पुनः स्थगित

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी सांसदहरूको चर्को नाराबाजी र विरोधकै बीच ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ बहुमतले पारित भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले उक्त प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले विपक्षी बेन्चबाट भइरहेको अवरोध र नाराबाजीकै बीच प्रक्रिया अगाडि बढाउँदै सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

यसअघि नियमावलीको मस्यौदामाथिको संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच वेलमै घम्साघम्सी परेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । स्थगित बैठक पुनः सुरु भएलगत्तै विपक्षी सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी जारी राखेका थिए ।

सभामुखले सभालाई सुचारु गर्न र आ-आफ्नो आसन ग्रहण गर्न पटक(पटक आग्रह गरे पनि विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका सांसदहरूले विरोध नरोकेपछि नियमावली पारितको प्रक्रियालाई अगाडि बढाइएको थियो ।

विपक्षी दलहरूले नियमावलीको मस्यौदामाथि पर्याप्त छलफल नभएको र यसलाई पुनः समितिमा लगेर टुङ्ग्याएर मात्र सदनमा ल्याउनुपर्ने माग राख्दै आएका थिए ।

विपक्षीको नाराबाजीकै बीच नियमावली बहुमतले पारित भएको घोषणा गरेलगत्तै सभामुख अर्यालले बैठक पुनः १५ मिनेटका लागि स्थगित गरेका छन् । 

Share News