काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी सांसदको अवरोधपछि स्थगन भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
सभामुखले प्राप्त संशोधन प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रम अघि बढाएसँगै विपक्षी वेञ्चका सांसदहरुले उठेर विरोध गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद वासना थापाले सभामुखसँग समय मागेर नियमावलीको मस्यौदामाथिको छलफलमा सहभागी सांसदहरुले मस्यौदालाई समितिमा टुङ्ग्याएर पूर्ण छलफलका लागि सदनमा ल्याउन माग गरेको सन्दर्भ उल्लेख गर्दै सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत नगर्न आग्रह गरिन् ।
सभामुखले कार्यसूचीअनुसार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले ‘वेल’ घेराउ गरेका थिए । सभामुखले सभाको मर्यादा पालना गर्न पटक पटक विपक्षी सांसदलाई आग्रह गरेका थिए ।
विपक्षी सांसदलाई सम्झाउन सत्ता पक्षका सांसदहरु पनि आसनबाट उठेर ‘वेल’मा पुगेका थिए । सो क्रममा सांसदहरुबीच घम्साघम्सी भएको थियो । विपक्षीको अवरोध जारी रहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगन गरे ।
त्यसअघि बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘समितिको प्रतिवेदन, २०८३ माथि दफावार छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।
बैठकमा सभामुख अर्यालले सो नियमावलीको मस्यौदामाथि ३५ वटा संशोधनको सूचना प्राप्त भएको जानकारी गराए । सांसदहरु नरेन्द्रकुमार केरुङ, भरतबहादुर खड्का, राधिका रम्तेल, आरेन राई, महेन्द्रबहादुर शाही, शम्भुप्रसाद ढकाल, प्रमिलाकुमारी गच्छदार, गीता गुरुङ, रिना उप्रेती, सुशीला ढकाल आचार्य, सरस्वती लामा, मातृका यादव, भरत गिरी, पार्वती विक, गोपाल शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, गङ्गादेवी श्रेष्ठ, साजिदा खातुन सिद्धिकी, यशोदाकुमारी बराल, भूमिका लिम्बू सुब्बा, नीता घतानी, गङ्गालक्ष्मी अवाल, कृपाराम राना, लक्ष्मीप्रसाद पोखरेल, गुरुप्रसाद बराल, क्षितिज थेबे, कुलभक्त शाक्य र सागर ढकालले उक्त नियमावलीमाथि आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिएका थिए ।
यस्तै, सांसद प्रकाशचन्द्र परियार, समीक्षा बाँस्कोटा, राम लामा, विपिनकुमार आचार्य, ऐनबहादुर महर, बलावती शर्मा, पद्माकुमारी अर्याल, वासना थापा, निश्कल राई, भीमकुमारी बुढा, प्रेमबहादुर बयक, खुश्बु ओली, रमेशकुमार मल्ल, पुष्पराज कँडेल र गणेश कार्कीले छलफलमा सहभागिता जनाएका थिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै नियमावली मस्यौदा समितिका सभापति पराजुलीले संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्सात गर्दै विगतका अनुभव, अभ्यास र परम्पारलाई परिमार्जन गरेर मस्यौदा तयार गरिएको स्पष्ट पारे ।
प्रतिनिधिसभाको गत चैत २३ गतेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता पराजुलीको संयोजकत्वमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसद सम्मिलित १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो ।
समितिमा ओजस्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुश्बु ओली, गजाला शमीम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, बलावती शर्मा, मधुकुमार चौलागाईँ, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव र सुलभ खरेल रहेका थिए । समितिले गत वैशाख ८ गते नियमावलीको मस्यौदा तयार गरेको थियो ।
मस्यौदा समितिका सभापति पराजुलीले गत वैशाख २८ गते नियमावलीको मस्यौदा प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए ।