प्रश्नोत्तर लगत्तै संसदबाट बाहिरिए प्रधानमन्त्री बालेन, विपक्षीको विरोध

काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका विभिन्न विषयमा जवाफ दिएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सदनबाट बाहिरिएका छन् ।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले भूमि विवाद, सुकुम्बासी व्यवस्थापन, सहकारी समस्या, विदेशमा रहेका नेपालीको मतदान अधिकार, मानव अधिकार आयोगको प्रतिवेदन तथा बाँदर व्यवस्थापनलगायत विषयमा सरकारको धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा सारिएको बताएका थिए। उनीहरूलाई धपाउने नभई ज्यानको सुरक्षा गर्ने उद्देश्यले स्थानान्तरण गरिएको उनको भनाइ थियो । देशभरका भूमिहीन नागरिकको व्यवस्थापन सरकारले गर्ने र त्यसका लागि सम्बन्धित निकायमार्फत काम अघि बढिरहेको उनले बताएका थिए ।

त्यस्तै, लिपुलेक-लिम्पियाधुरा क्षेत्रबारे सरकारले कूटनीतिक पहल जारी राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले भारतसँग संवाद भइरहेको बताएका थिए । सहकारी पीडितका समस्या समाधानका लागि छुट्टै कोष निर्माणको काम अघि बढिरहेको र त्यसमा भ्रम फैलाउन नहुने उनको भनाइ थियो । 

प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा पनि सरकार गम्भीर रहेको बताए । मोबाइलमार्फत वा नेपाली दूतावासमार्फत मतदान गर्ने व्यवस्था मिलाउने विषयमा छलफल भइरहेको र छिट्टै निर्णयमा पुगिने उनले जानकारी दिए ।

सांसदहरूको प्रश्नको जवाफ सकिएलगत्तै प्रधानमन्त्री बालेन सदनबाट बाहिरिएका थिए । प्रधानमन्त्री बाहिरिएपछि विपक्षी दलका सांसदहरूले भने त्यसप्रति आपत्ति जनाएका छन् । प्रश्नोत्तर कार्यक्रम सकिए पनि प्रधानमन्त्रीले सदनमै बसेर थप छलफल सुन्नुपर्ने भन्दै विपक्षी सांसदहरूले विरोध गरेका हुन् ।

प्रधानमन्त्री बाहिरिएपछि सदनमा होहल्ला भइरहेकाे छ । विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिमाथि प्रश्न उठाउँदै आफ्नो असन्तुष्टि जनाइरहेका छन् । 

Share News