काठमाडौं । सोमबार (आज) असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ ।
काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेपलाञ्चोक जिल्लामा असार १५ का लागि यहाँका चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिए ।
उनले आजको दिन ताइचिन चिउराको माग अत्यधिक बढेको बताए । दहीसँग ताइचिन चिउरा निकै स्वादिलो हुने मान्यता अनुरूप वर्षौंदेखि चिउराका पारखीले ताइचिन चिउरानै रोज्ने गर्छन् ।
भक्तपुरमा करिब २५ वटा चिउरा मिलबाट दैनिक २५ टन ताइचिन चिउरा उत्पादन हुने गरेको उहाँले जानकारी दिए ।
भक्तपुर नगरपालिका-६ भालाछेँमा लक्ष्मी चिउरा उद्योगको नामले प्रख्यात जतिको उक्त चिउरा उद्योगमा मात्रै दैनिक ८०० किलो ताइचिन चिउरा बिक्री हुने गरेको उनी बताउँछन् ।
दही चिउरा खाने दिन काठमाडौं उपत्यकाका व्यापारी तथा रेष्टुरेष्टहरूमा ताइचिन चिउराको माग अत्यधिक बढेको उनले बताए ।
आज मात्रै आफ्नो चिउरा मिलबाट एक हजार किलो चिउरा माग भएकोमा ८०० किलो मात्रै दिन सकेको सङ्घका निवर्तमान अध्यक्ष जति बताउँछन् ।
भक्तपुरबाट प्रतिकिलो २५० रुपैयाँमा ताइचिन चिउरा बिक्री हुँदै आएको छ । खानलाई स्वादिलो र स्वस्थ्यवद्र्धक हुने भएकाले दहीसँग ताइचिन चिउरा खाने प्रचलन रहेको उनी बताउँछन् ।
भक्तपुरबाट वार्षिक ३०० टन ताइचिन चिउरा काठमाडौं उपत्यकामा बिक्री हुने गरेको उनी बताउँछन् ।
चिउराका लागि चैतेधानको साथै चितवन, नुवाकोट, पनौती, नाला, भक्तपुरबाट सिजनअनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको सङ्घका पूर्वअध्यक्ष जति बताउँछन् ।