काठमाडौं । सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ ।
डिभिजन अन्तर्गत पर्ने विभिन्न सडक सीमा अतिक्रमण गरी व्यक्ति तथा संस्थाहरूले सार्वजनिक सडक ऐन २०३१ को बर्खिलाप हुने गरी बनाइएका घर टहरा र पर्खाल हटाउन जारी सूचनामा उल्लेख गरिएको छ ।
सडक सीमा अतिक्रमित हुँदा सवारी आवागमनमा असर पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर पर्ने भएको भन्दै डिभिजनले सूचनाअनुसार १५ दिनभित्र निर्मित संरचना हटाउन अनुरोध गरेको छ । सूचनालाई बेवास्ता गरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने र संरचना भत्काउँदा लाग्ने खर्चसम्बन्धी व्यक्तिबाट असुल गरिने गरिने सूचनामा उल्लेख छ ।
कार्यालयले जारी गरेको सूचनामा पूर्व-पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्ड, सहिदमार्गको-कोइलावास-लमही-घोराही सडकखण्ड, राप्ती राजमार्गको-अमेलिया-तुलसीपुर-सितलपाटी खौलापास सडकखण्ड, हुलाकी राजमार्गको-गढवा-राजपुर सडक, मदन भण्डारी राजमार्गको शीतलपाटी-खलङ्गा-बालुवा सङ्ग्रही सडकखण्ड, मुर्कृटी-घोराही-तुलसीपुर-काल्चे सडकखण्ड,भालुबाङ-गनाहा-सडकखण्ड र रारा राजमार्गको-थारमारे-चौरजहारी सडकखण्डको सीमा अतिक्रमण भएको उल्लेख छ ।