काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूको कार्य विभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न सो पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।
जेठ ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनलाई आज अन्तिम रुप दिने तयारी छ । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११:३० बजे अध्यक्ष ओली निवास भक्तपुर, गुण्डुमा बस्न लागेको हो ।
अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेराफेरी गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तर पार्टी निर्देशन (अपानि) मार्फत नेताहरूलाई पठाउने तयारी छ । गत मङ्सिर २७ देखि २९ मा भएको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्य विभाजन गरिएको थियो ।
यसपटकको कार्य विभाजनमा एमालेमा मुख्य मानिएका विभागमध्ये सचिव भानुभक्त ढकाललाई सङ्गठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसङ्गठन र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ । उपाध्यक्ष तथा उप-महासचिवलाई विभागका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ ।