तानसेनमा सहकारी संरक्षण र बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सहकारी संस्थाहरूको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना तथा सुशासनसम्बन्धी कार्यक्रम आइतबार पाल्पाको तानसेनमा सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघ पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाभरिका सहकारीका सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सहकारीका शेयर सदस्यहरूको बचत सुरक्षणका लागि बीमा आवश्यक रहेको बताए । उनले सहकारी परिसर, बजारमा संकलित रकम तथा सहकारी कार्यालयबाट बैंकसम्म लैजाँदा हुने लुटपाट वा हराउने जोखिमलाई मध्यनजर गर्दै बीमा गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, इन्स्योरेन्सका लुम्बिनी प्रमुख विश्वदीप नेपाल ले सहकारीको रकम कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए । उनले रात्रि बासको जोखिम, कार्यालयमा तोडफोड गरी हुने चोरी तथा धम्की दिएर नगद कब्जा गर्ने जस्ता घटनाबाट हुने क्षतिका लागि बीमा अपरिहार्य भएको बताए ।

कार्यक्रममा तानसेन शाखा प्रमुख करुणा काफ्ले र रामपुर शाखा प्रमुख डोल प्रसाद श्रेष्ठले कृषि, पशुपंक्षी तथा जडिबुटी बीमाबारे जानकारी दिएका थिए ।

भूपति पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण प्रसाद भुसाल ले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव कृष्ण भट्टराई ले गरेका थिए ।

कार्यक्रममा जिल्लाका विभिन्न सहकारीका पदाधिकारी र व्यवस्थापकहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।   

Share News