काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटलाई महत्त्वाकांक्षी नबनाई यथार्थपरक राख्न सुझाव दिएका छन् ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको छलफलमा उनले यस्तो सुझाव दिएका हुन् ।
‘अर्थमन्त्रीहरू बजेटको बाउन्ड्रीमा बस्न खोज्नुहुन्छ, तर राजनीतिले छक्का हान्न खोज्छ । तपाईं बाउन्ड्रीमै बस्नुस्,’ डा. खतिवडाले भने, ‘बजेट साढे २० खर्बको बनाए पनि खर्च १६१७ खर्ब मात्र हुने गरेकाले ठूलो राजश्व लक्ष्य नराख्नूस् । राजश्व वृद्धिको सीमा १० देखि १२ प्रतिशत मात्र राख्नूस्, १५ प्रतिशत ननघाउनूस् ।’
उनले आयकरको तल्लो स्ल्याब र मुअकको दर दुईवटा नबनाउन समेत सचेत गराए ।
त्यस्तै, डा. युवराज खतिवडाले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बचाउन दुई–चार जना मान्छे थुनेर मात्र नहुने बरु बलियो कूटनीतिक पहल चाहिने स्पष्ट पारे ।
उनले राष्ट्र बैंकसँग बलियो समन्वय गरेर वित्तीय क्षेत्र सुधार गरेमा मात्र देशमा ७ प्रतिशतको आर्थिक वृद्धि सम्भव हुने दाबी गरे ।