काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरमान सिंहको निधन भएको छ ।
सिंहको गएराति आकस्मिक हृदयघातका कारण निधन भएको हो ।
विसं २०६४ देखि २०६८ सम्म नेप्सेको सीईओको रूपमा नेतृत्व सम्हालेका सिंह लामो समयदेखि नेपालको पूँजी बजारको विकास र आर्थिक नीति विश्लेषणमा सक्रिय रहँदै आएका थिए ।
सरकारले उनलाई २०७० साल असारमा ‘विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमासमेत नियुक्त गरेको थियो ।
सेजमा रहँदा उनले नेपालमा निर्यातजन्य उद्योगहरूको प्रवर्द्धन र औद्योगिक वातावरण निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
सिंहले आर्थिक, वित्तीय र पुँजी बजारका समसामयिक विषयमा विश्लेषणात्मक लेखहरूसमेत लेखेका छन् ।